धादिङलाई सरकारको उपहार : १५ अर्ब चिनीयाँ लगानीमा सिमेन्ट फ्याक्ट्री सञ्चालनमा आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १४, मंगलबार (६ साल अघि)
  • ११२ पटक पढिएको
Post Thumbnail

फागुन १४,धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. २ ताल्तिमा सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । सरकार बैदेशिक लगानी भित्र्याई मुलुकमा सम्बृद्धीको ढोकालाई फराकिलो बनाउन लागेको बेला चिनियाँ कम्पनी हुआसिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने सहमती भएको थियो । जसअनुसार ह्वासिनले धादिङको ताल्तीलाई आफ्नो उत्पादन स्थल रोजेको हो ।

सिमेन्ट उद्योगको आगामी फागुन १७ गते प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले शिलान्यास गर्ने कार्यक्रम रहेको हुआसिन सिमेन्ट नारायणी प्रा.लि.ले अनलाईन केन्द्रलाई जानकारी दिएको छ । दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग आगामी ९ महिना भित्रमा निर्माण भैसक्ने पनि कम्पनीले बताएको छ । सिमेन्ट उद्योगबारे जानकारी गराउन मंगलबार सदरमुकाम धादिङबेसीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकारहरुसंग कुरा गर्दै कम्पनीका प्रतिनिधि तुलसीजंग थापाले विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गरिने बताए । हुआसिन नेपालमा प्रत्यक्ष बैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि थापाले दावी गरे । सिमेन्ट उद्योगमा चिनीयाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ ।

सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने पनि कम्पनीका प्रतिनिधि थापाले बताए । पहिलो पटक नेपालमा टनेल खानी प्रविधिबाट सिमेन्ट उत्पादन र सबैभन्दा बढी वातावरणमैत्री हुने पनि थापा बताउछन ।

उद्योग क्षेत्रका बासिन्दाका लागि पनि उद्योगले सडक, पानी, विद्युत लगायतका पूर्वाधार विकासमा समेत सहयोग गर्ने भएको छ । उद्योग शिलान्यास कार्यक्रममा ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको समेत सहभागिता रहने बताइएको छ । शिलान्यास कार्यक्रममा पुर्वमन्त्री तथा नेकपा केन्द्रिय सदस्य राजेन्द्र पाण्डे,प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल लगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस