चैत २७, काठमाडौँ । नेपाल टेलिकमले उपभोक्ताहरूका लागि सहुलिय दररेटमा विभिन्न सेवाहरू उपलब्ध गराएको छ । टेलिकमले भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरूका लागि विभिन्न दरका प्याकेजहरू उपलब्ध गराएको छ ।
कम्पनीको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकका लागि सस्तो दरको भ्वाइस सेवाका लागि अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक आदिको व्यवस्था गरिएको छ । साथै एक अर्कामा असीमित रूपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सीयूजी प्याकेजको समेत व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई सिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरूलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ ।
अल टाइम भ्वाइस प्याक
यस भ्वाइस प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड-पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरू १० रुपैयाँदेखि ५५० रुपैयाँसम्ममा खरीद गर्न सकिन्छ ।
नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड-पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ रातसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ रातसम्म २४० मिनेट र १ सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिने छ । सो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्क भित्र प्रयोग गर्न सकिन्छ ।
सीयूजी प्याकेज
कम्पनीले कर्पोरेट ग्राहकहरूका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम-सीडीएमएका प्रिपेड-पोष्टपेड सबैमा यो सुविधा उपलब्ध छ । यो प्याकेज अन्तर्गत रहेका सदस्यहरूले एक अर्कामा असीमित कल गर्न सकिन्छ ।
यस अन्तर्गत जीएसएम-सीडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ । यसैगरी जीएसएम-सीडीएमए पोष्टपेड-प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ । यो ग्रुपमा रहेका सदस्यहरूले एक अर्कामा असीमित कल गर्न बाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिन्छ ।
डे प्याक
डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ । यस अन्तर्गत ६ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिन्छ ।
एफटीटीएचमा निःशुल्क भ्वाइस
एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात् सिप कल सेवा उपयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । व्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँसम्ममा खरीद गर्न सकिन्छ । त्यसैगरी कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँ सम्मको प्याकेज उपलब्ध छन् ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१२१५# मा डायल गर्नुपर्छ । कम्पनीको वेबसाइटमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा प्याकेज खरीद गर्न सकिन्छ ।