बैशाख २, काठमाडौँ । गुल्मीको मुसीकोट नगरपालिकाअन्तर्गत बडिघाट खोलामा निर्माणाधीन पाँच करोडको पक्की पुल भाँचिदा ५ जना घाइते भएका छन्।
मुसीकोट नगरपालिका ३ र ७ को सिमानामा अबस्थित बडिघाट खोलाको झेदीमा निर्माणाधीन पुल आइतबार अपराह्न ४ बजेतिर भाँचिएको हो।
पुल भाँचिदा निर्माण व्यवसायी चितवनका ऋषिराज इटानी, मुसीकोट नगरपालिका निवासी रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उपचारका लागि बागलुङको हटिया लगिएको छ । घाइतेमध्ये निर्माण व्यवसायी इटानीको अवस्था गम्भीर छ।
५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा अचानक बेस भाँचिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खड्काले जानकारी दिए । यो पक्की पुल तीन वर्षअघि ५ करोड १७ लाख लागतमा निर्माण सुरु भएको हो।
दुई पिल्लरसहितको पुल ढलान गर्दा अचानक ढलेको स्थानीयले बताएका छन् । पुल निर्माण गर्ने जिम्मा वाइपी जनबुद्ध निर्माण सेवा काठमाडौंले पाएको हो । पुल समयमै निर्माण सम्पन्न हुन नसक्दा पुनः म्याद थपेर काम गरिँदै थियो।