बैशाख ९,नेपालगञ्ज । पछिल्लो समयमा बाँकेमा ठूला उद्योग खुल्ने क्रम बढे पनि धेरै वर्षदेखि सञ्चालनमा रहेका यहाँका अधिकांश खाद्य तथा वनस्पति उद्योग बन्द हुँदै गएका छन् ।
बाँके, बर्दिया धान उत्पादनमा देशकै अग्रणी जिल्लाका रूपमा परिचित भए पनि कुनै बेला यस क्षेत्रकै सबैभन्दा ठूला मानिने महाकाली राइस मिल, गणेश हिमाल राइस मिल र टन्डन राइस मिलजस्ता आधा दर्जन ठूला खाद्य उद्योग बन्द भएको व्यवसायीले बताएका छन् ।
खुला सिमाना एवं सरकारको नीतिका कारण सीमावर्ती जिल्लाका खाद्य उद्योग सबैभन्दा बढी प्रभावित भएको जनाउँदै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले एकपछि अर्को गर्दै प्रायः सबै खाद्य उद्योग बन्द भएको बताए ।
भारतबाट चामल र अन्य खाद्यान्नको आयात बढ्दै जानु र बाँके बर्दियामा धानलगायतका खाद्यान्न उत्पादन घट्दै जानु उद्योग बन्द हुनुको प्रमुख कारण रहेको उनले बताए ।
धानमात्र होइन, मुसुरो, रहर दाल बङ्गलादेश तथा खाडी मुलुकसम्म निर्यात गरिँदै आएको स्मरण गर्दै उहाँले अहिले यो पनि घटेर गएको बताए ।
“ठूलो परिमाणमा तोरी उत्पादन हुँदा विगतमा तेल पनि निर्यात हुने गर्दथ्यो तर अहिले तोरीकै उत्पादन घटेपछि अधिकांश तेल मिल पनि बन्द भइसकेका छन”, उनले भने । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अनुसार भारतसँगको निर्भरता र आयात बढ्दै जाँदा यहाँका वनस्पति घ्यू उद्योग पनि बन्द भएका छन् ।
यहाँबाट एक लाख लिटरसम्म वनस्पति घ्यू निर्यात भएको जनाउँदै सङ्घका अध्यक्ष नन्दलाल वैश्यले तर अहिले सो घटेर नाम मात्रमा सीमित हुनपुगेको बताए । “दुगड ग्रुपले मिल चलाउन भारतको राजस्थानबाट तोरी आयात गर्दै आइरहेको छ”, उनले भने ।
खाद्य उद्योग सञ्चालक प्रदीप छाजेडका अनुसार खाद्यान्न उत्पादनमा अग्रणी रहेको बाँके बर्दियामा एकपछि अर्को गरेर यी उद्योग बन्द हुनु विडम्बना हो । उनका अनुसार भन्सारको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष भारतबाट खाद्यान्न, तरकारी र फलफूलको आयात अकासिँदो हिसाबले बढ्दै गएको देखिन्छ भने स्थानीय खाद्य र वनस्पतिलगायतका उद्योग त्यही अनुपातमा बन्द हुँदै गएका छन् ।