बैशाख १६,काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन ।
के हो प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा ?
अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन् ।
कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट यससम्बन्धी जानकारी तथा सुविधा लिन सकिन्छ ।
चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने
मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिईन । ‘चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ९० लाग्ने छ,’ प्रवक्ता वैद्यले भनिन् ।
त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्ने छ ।
नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु १४ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट रु ३९७ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस रु ५४ र भारतबाट प्रति एसएमएस रु २४ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।
कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गरेका थिए ।