बैशाख २०, काठमाडौँ । यस सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाइरहेका नेपाली शेर्पा गाइडको टोली बिहीबार दिउँसो ८ हजार मिटर उचाइमा रहेको साउथकोलमा पुगेको छ।
‘साउथकोलबाट सगरमाथा र ल्होत्से हिमाल जाने मार्ग छुट्टिन्छ।
नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गर्नेहरू अन्तिम प्रयास यहींबाट गर्छन्।
आरोहण दलले साउथकोलमा आफ्नो अन्तिम क्याम्प राख्छन्, जसलाई चौथो क्याम्प भनिन्छ।
‘आठ जना नेपाली शेर्पा गाइइड बिहीबार दिउँसो २ बजे साउथकोलसम्म बाटो बनाउन सफल भएका छन्,’ यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि डोरी टाँग्ने जिम्मा पाएको कम्पनी हिमालयन गाइड्सका सञ्चालक ईश्वरी पौडेलले भने।
उनका अनुसार बाटो बनाउनेहरू दोलखाका सिद्धि तामाङको नेतृत्वमा संखुवासभाका पासदावा शेर्पा, दावा फिन्जु लामा भोटे, मिङ दोर्ची शेर्पा र आङ फुर्वा शेर्पा, दावा नोर्बु शेर्पा अनि सोलुखुम्बुका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा थिए।