जेठ २, काठमाडौँ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरेर आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हो ।
आयोजनको पावर हाउस रहेको किस्पाङमा नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘स्वीच अन’ गरेर आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्राडीमा जोडेका हुन् ।
आयोजनाबाट शुक्रबार ५ बजेबाट लगातार ७२ घण्टे परीक्षण उत्पादन हुनेछ । त्यो सफल भएपछि यसले व्यवसायिक उत्पादन थाल्ने प्राधिकरणले जनाएको छ ।
विद्युत गृहबाट विद्युत् उत्पादन सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट उत्पादन सुरु भएको हो । दोस्रो युनिट (३० मेगावाट) को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।