गण्डकीमा १७५ उद्योग खोल्ने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १४, मंगलबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

जेठ १४,पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबार आयोजित ‘गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिस्थापन तथा अन्तर प्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी’ विषयक गोष्ठीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी आवभित्रै हिमालमा २५, पहाडमा ५० र तराईमा एक सय उद्योग खोलिने बताए ।

चालू आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरिए पनि कार्यविधि निर्माणका साथै सम्भाव्यता अध्ययनमै समय बितेको उहाँले जानकारी गराए । सम्भाव्यता अध्ययनसहित स्थानीय कच्चापदार्थ प्रयोग हुने उद्योग खोलिने उनको भनाइ छ । प्रदेश सरकारले राम्रो उद्योग नीति ल्याएको उल्लेख गर्दै मन्त्री लम्सालले शिक्षाबिना समृद्धि सम्भव नभएको धारणा राखे ।

दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिँदै उनले आवश्यकतानुसारको योजना निर्माण र उद्योग खोल्ने नीति लिइएको बताए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले चालू आव २०७५/७६ मा व्यापार घाटा अझ बढ्ने बताए ।

गएको वर्ष देशको कूल निर्यात ८१ अर्ब रुपैयाँ र आयात १२ खर्ब ४५ करोड रुपैयाँ रहेको उल्लेख गर्दै उनले चालू आवको नौ महिनाको व्यापार अवस्था हेर्दा घाटा अझ बढ्ने देखिएको जानकारी गराए। उत्पादकत्व बढाउँदै आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रा तय गरेपछि मात्रै निर्यातबारे पनि सोच्न सकिने अवस्था रहेको उहाँले स्मरण गराए ।

निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत नवराज मरहट्टाले कूल गार्हस्थ्य उत्पादनमा ७ दशमलव ६ प्रतिशत योगदानसहित सात प्रदेशमध्ये गण्डकी पाँचौँमा रहेको जानकारी गराए । गण्डकीमा रहेको भौगोलिक विविधता, कोरला र सुस्ता नाका एवम् उत्पादकत्व भएको भूमिको समुचित लाभ लिन सके यो प्रदेशले आर्थिक उन्नति गर्न सक्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सिंहदरबारको अधिकार गाउँगाउँमा मात्रै होइन, गोठगोठमा पु¥याए मात्र आत्मनिर्भर अर्थतन्त्र बन्ने बताए । कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले नेपालले आफ्ना उत्पादनको पहिचान गर्न नसक्दा व्यापार घाटा चुलिएको उल्लेख गरे ।

कार्यक्रममा सङ्घका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, पोखरा पर्यटन परिषद्का अध्यक्ष चीरञ्जीवी पोखरेल, वाणिज्य सङ्घका कार्यसमिति सदस्य मुना बाँस्तोला, हरिराज पन्तलगायतले निकासी प्रवर्द्धन र आयात विस्थापनका लागि उत्पादनमा जोड दिए।

ताजा अपडेट

खोजी गर्नुहोस