असार सुरू हुनै लाग्दा मलको अभाव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २४, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २४, मकवानपुर । खेती लगाउने मुख्य समयमा नै मकवानपुरमा युरिया मलको चर्को अभाव भएको छ । मकैखेती तथा चैते धान रोप्ने अहिले उपयुक्त समय हो । मकै र चैते धान रोप्ने मुख्य समयमा युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छन् ।

यसले कृषि उत्पादनमा ह्रास आउने विश्वास किसानको छ । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रमा मल खरीद गर्न जाने किसान रित्तै फर्किन थालेका छन् ।

जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङसँग युरिया मलको मौज्दात नरहेका कारण मल समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

कृषि सामग्री कम्पनीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताए । मलको टेण्डर भई आयत प्रक्रिया पूरा भइसकेको र हेटौँडामा एक हप्तासम्ममा आउने जानकारी दिए ।

साथै साल्ट ट्रेनिङ हेटौँडाले पनि युरिया मल ल्याएर बिक्री गर्नमा केही समय लाग्ने जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले किसानबाट मल अभावका गुनासो धेरै आएको बताए ।

चालु आर्थिक वर्षमा अहिलेसम्म जिल्लामा एक हजार ६०० मेट्रिक टन मल खपत भएको छ । दुई हजार ३०० मेट्रिक टन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

त्यस्तै जिल्लामा पोटास र डिएपी मलको पनि अभाव देखिएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस