उच्च शिक्षा पढ्न ५ लाख ऋण दिँदै भक्तपुर, यस्तो छ लिने प्रक्रिया

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई ५ लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ।

भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो।

यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ।

मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरे।

‘गरिबीकै कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था नबनोस् भन्ने ध्येय हो। गरिब, दलित र किसान परिवारलाई कार्यक्रमले लाभ मिल्छ,’ उनले भने ।

यस्तो छ ऋण लिने प्रक्रिया

ऋण लिन चाहने विद्यार्थी नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्छ । एसइईभन्दा माथिल्लो जुनसुकै तह अध्ययनका लागि ऋण लिन सकिन्छ । ऋण लिएर विद्यार्थीले सरकारले अनुमति दिएको शैक्षिक संस्थामा अध्ययन गर्न पाउँछन्।

विपन्न र जेहेनदार विद्यार्थीले वडा कार्यालयमा आवेदन दिएपछि आवेदकको वास्तविक अवस्था हेरेर वडाध्यक्षले नगरपालिकालाई सिफारिस गर्छन् । नगरपालिकाले एकाघरका दुईजना साक्षी राखेर विद्यार्थीसँग ऋण सम्झौता गर्छ ।

तर, नगरपालिकाले दिने ऋणबापतको रकम एकमुष्ट भुक्तानी हुँदैन।

ऋणबापतको रकम ऋणी र ऋणीको परिवारलाई नदिई आवश्यकताअनुसार शैक्षिक संस्थालाई भुक्तानी दिने निर्देशिका बनेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।


ऋण रकमबाट कलेजले लिने शुल्क मात्रै तिर्न मिल्छ, सो रकम विद्यार्थीले आवश्यक पर्ने पोसाक र शैक्षिक सामग्रीमा खर्च गर्न पाउँदैनन्,’ अधिकारीले भने । ऋण लिने विद्यार्थीले पढाइ पूरा गरेपछि क्रमशः चार वर्षभित्र ब्याजसहित भुक्तानी गर्नुपर्छ ।

पढाइ सकिएको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष बर्सेनि २५–२५ प्रतिशतका दरले भुक्तानी गर्नुपर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस