व्यवसायी सुमार्गीको घोषणा -‘चौकुने सिमेन्ट उद्योग’ले आगामी वर्षदेखि उत्पादन गर्छ’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ५, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ५,सुर्खेत । नेपालकै ठुलो सिमेन्ट कारखाना ‘चौकुने सिमेन्ट उद्योग’ले आगामी वर्षदेखि उत्पादन थाल्ने भएको छ । मुक्तीश्री प्रा.ली.को लगानीमा चौकुने सिमेन्ट उत्पादनको तयारी थालिएको हो । सुर्खेतको चौकुनेमा स्थापना हुने सिमेन्ट कारखानाले २०७७ सालको भदौ महिनादेखि उत्पादन सुरु गर्ने व्यवसायी अजेयराज सुमार्गीले जानकारी दिए।

८ वर्षदेखि चौकुनेमा सिमेन्ट उद्योग स्थापनाको तयारी गरेको सुमार्गीले जानकारी दिए। बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार उद्योग वाणिज्य संघसँगको अन्तरक्रियामा व्यवसायी सुमार्गीले अर्को वर्षदेखि उत्पादन सुरु हुने गरी काम अगाडि बढेको जानकारी दिएका हुन्। उनले लक्ष्यअनुसार नै उत्पादन गर्ने गरी काम अगाडि बढेको बताए।

व्यवसायी सुमार्गीले २ अर्ब बराबरको लगानी गरी चौकुनेमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको बताएका थिए। ‘म दुई अर्बको लगानी गरेर अर्को वर्षको भदौमा सिमेन्ट उत्पादन गर्छु’, सुमार्गीले भने, ‘यहाँ उत्पादन भएको सिमेन्ट दिल्ली र लखनउमा बेच्छु।’ सिमेन्ट उद्योग स्थापना हुनेमा अब कुनै पनि शंका नरहेको उनले बताए। ‘त्यहाँका जग्गादातालाई कारखानामा ५० हजार बराबरको शेयर दिइनेछ। कामदारलाई पनि सोही बराबरको शेयर दिइनेछ’, जनतालाई पनि लगानीकर्ताको रूपमा स्थापित गर्ने आफ्नो योजना रहेको बताउँदै सुमार्गीले भने, ‘मैले त्यस्तो गरेको खण्डमा बन्द र हडताल हुँदैन र कम्पनीले द्रुत गतिमा काम गर्छ।’

उनले कारखानामा ७०० जनाले रोजगारी पाउने र प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने योजना रहेको बताए। ‘अहिले हामीलाई बाटोको समस्या छैन। तिखाकुनाबाट भएर हामी सामान ढुवानी गर्नेछौँ’, व्यवसायी सुमार्गीले भने, ‘तर बिजुलीको समस्या भने छ। यसका लागि हामीले प्रदेश सरकारसँग कुरा गरिरहेका छौँ।’ उनले विद्युत नपुगेसम्म जेनेरेटर चलाएर भए पनि उत्पादन सुरु गरिने प्रतिबद्धता जनाएका थिए।

यस्तै, सुर्खेतका व्यवसायीलाई सुमार्गीले पाँच लाख घार माहुरी पाल्ने योजनाका साथ अघि बढ्न आग्रह गरेका छन्। ‘पाँच लाख घार माहुरी पाल्ने गरी योजना बनाउनुस्, एक लाख परिवारलाई बाख्रा पाल्न लगाउनु होस’, उनले भने, ‘पैसा नभएकालाई बैंकभन्दा आधा कम ब्याजदरमा पैसा दिन्छु, बीमा गरिदिन्छु।’ उनले कर्णालीको मासु र महलाई राख्न कोल्ड स्टोर खोलिनेसमेत बताए। व्यवसायी सुमार्गीले कर्णालीमा जडीबुटीको अथाह सम्भावना भएको बताउँदै दुई अर्ब रुपैयाँ यो क्षेत्रमा लगानी गर्न तयार रहेको बताए।

‘जडीबुटीको बिउ दिन्छु, मल दिन्छु र प्रशोधन पनि गर्छु अनि जनताबाट खरिद गर्दै बिक्री पनि गर्छुु, उनले भने, ‘यसका लागि पनि व्यवसायी साथीहरू तयार हुनुस्, दुई अर्ब म लगानी गर्न तयार छु।’

ताजा अपडेट

खोजी गर्नुहोस