असार १९,धादिङ । धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि झण्डै ७२ करोड रुपैँयाको बजेट बिनियोजन गरेको छ । नगरपालिकामा भएको पाचौँ नगरसभा मार्फत नगरका उपप्रमुख निरु खरेलले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र योजना कार्यान्वयन गर्न रु.७१ करोड ८७ लाख रुपैँया विनियोजन गरेको सभा मार्फत जानकारी गराएका छन् । विनियोजित बजेट केहि गुनासोको सम्बोधन भएपछि सभा मार्फत सर्वसम्मतीले पारित भएको छ ।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ ३३ करोड ३३ लाख ६१ हजार अर्थात कुल विनियोजको ४६.३८ प्रतिशत र पूजीगत तर्फ ३८ करोड ५३ लाख ३९ हजार अर्थात कुल विनियोजनको ५३.६२ प्रतिशत विनियोजन गरिएको नगर उपप्रमुख खरेलको भनाई छ ।
समृद्ध धुनिवेशी, खुसी नगरवासी अभियान अनुसार नगरबासीहरुले दिर्घकालमा अनुभुत गर्ने खालको विकास कार्यक्रमहरु कार्यान्वयन गर्न गत वर्ष देखी बजेट सुरुवात गरिएकोमा यस वर्षलाई पनि सो अभियानलाई निरन्तरता दिने गरी बजेट बाँडफाँड गरिएको नगरपालिका प्रमुख बालकृण्ण आचार्यले बताए । आचार्यले धुनिवेशीलाई केही वर्ष भित्र मध्यम आयस्तर भएको नगरको रुपमा विकास गर्ने लक्ष्य निर्धारण गरी आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौतिक पूर्वाधार विकास गर्दै नगरलाई रुपान्तरण गर्ने दिशामा यो बजेट लक्षित गरी निरन्तरता दिइएको बताए ।
‘‘उद्योग, पर्यटनसँगै आधुनिक कृषि, स्वच्छ, सवल र समृद्ध हाम्रो धुनिवेशी’’ भन्ने अभियानलाई साकार पार्न सडक, कृषि, उद्योग, पर्यटन, खानेपानी तथा सरसफाई सुविधा विस्तार गर्दै सुुशासनयुक्त नगरको रुपमा विकास गर्ने लक्ष्य रहेको नगरसभा मार्फत जानकारी गराईएको छ ।
कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले बजेट तथा विद्येयक बारे सहभागीहरुको गुनासोलाई सम्बोधन गरेका थिए । कार्यक्रममा नगरकार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, पत्रकार लगायतको सहभागिता रहेको थियो ।