भाद्र १, काठमाडौँ । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ।
‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारको प्राथमिकता हो। तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो। अब काम अघि बढेको छ।’ नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ। केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने विश्वास छ।
काठमाडौं–रसुवागढी (केरुङ सीमा) रेलमार्ग ७२ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ। नेपालमा चिनियाँ उच्च नेतृत्वको भ्रमण हुने तयारी छ।