भाद्र १२, काठमाडौं । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण निर्धारित समयमा नसकिने भएको छ ।
पूर्वनिर्धारित समयअनुसार ०७८ वैशाखसम्म सक्ने गरी फास्ट ट्रयाकको जिम्मा लिएको नेपाली सेनाले थप दुई वर्ष अर्थात् ०८० वैशाखसम्म लाग्ने जनाएको हो।
सरकारले जम्मा चार वर्षमा निर्माण सक्ने गरी २१ वैशाख ०७४ मा सेनालाई जिम्मा दिएको थियो ।
‘चार वर्षमा काम सक्ने लक्ष्यसहित फास्ट ट्रयाक निर्माणको जिम्मा सेनाले लिएको हो । पूर्वनिर्धारित समयअनुसार अब डेढ वर्ष मात्रै बाँकी छ । तर, यो समयमा नसकिने भयो,’ भद्रकालीस्थित सैनिक मुख्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘सरकारको कार्ययोजनामा पनि फास्ट ट्र्याक निर्माणको अवधि पाँच वर्ष नै तोकिएको छ । अहिले डिपिआर स्वीकृत भइसक्यो । अब काम द्रुत गतिमा अघि बढ्छ । सम्पूर्ण काम सक्न साढे तीन वर्ष लाग्छ । यो भनेको ०८० सम्ममा फास्ट ट्रयाकको काम सक्ने भन्ने हो।’
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा भएको विवाद र विलम्ब, मुआब्जा विवाद, ट्र्याकको रेखांकन (अलाइनमेन्ट) परिवर्तनलगायत समस्याका कारण निर्माण अवधि लम्बिएको सेनाको दाबी छ।
अलाइनमेन्ट परिवर्तन गरिएकै कारण ७६ किमिको फास्ट ट्रयाक छोटिएर ७२.५ किमिमा झरेको सैनिक प्रवक्ता पाण्डेले बताए । ‘स्वीकृत डिपिआरमा केही संशोधन भएको छ । यो भनेको फास्ट ट्र्याकको अलाइन्मेन्ट चेन्ज गरिनु हो । खोकना क्षेत्र र ठिंगन–लेनडाँडामा फास्ट ट्र्याकको अलाइन्मेनट चेन्ज भएको छ । सोही कारण यसको लम्बाइ साढे तीन किलोमिटर घटेको छ,’ उनले भने ।