आइडिया फर नेपालले माडीमा ४० बिघा जमिनमा फलफूल खेतीसहित रिसोर्ट सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १५, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ,चितवन । जिल्लाको चर्चित ठाँउ माडीमा झण्डैं ४० बिघा जमिनमा फलफूल खेतीसहित रिसोर्ट सञ्चालनमा गरिने भएको छ ।

माडी नगरपालिका र गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेतीसहितको रिसोर्ट सञ्चालनको सम्झौता भएको छ ।
सम्झौता पत्रमा माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र आइडिया फर नेपालका तर्फबाट अध्यक्ष गोकर्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो प्रयोजनका लागि माडी नगरपालिकाले वडा–५ को मगोई खोला किनारको करिब ४० बिगाहामा फैलिएको लामो चौर ४९ बर्षका लागि  साझेदारीको रुपमा योजना अघि बढाउने सम्झौता गरेको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । खासगरी आइडिया फर नेपाल र माडी नगरपालिकाले यो योजना संयुक्त रुपमा अघि बढाउने गरी सम्झौता गरेका हुन ।

परियोजनाले माडीका हरेक वडामा ५०–५० वटा फलफूल र सेतो चन्दनको विरुवा किसानहरुलाई उपलब्ध गराउने जनाएको छ । किसानहरुलाई आवश्यक पर्ने अन्य प्रकारका सहयोगका साथै किसानबाट उत्पादन भएको उपजको बजारीकरणको जिम्मा आफूहरुले लिने परियोजनाका नेपाल प्रोजेक्ट कोअर्डिनेटर शिरोमणि दवाडीको धारणा छ । परियोजनाको डिपिआर बनाउने काम अर्को हप्ताबाट अघि बढाउने उनले जानकारी दिए । ‘जतिसक्दो छिटो डिपिआरको काम सकेर निर्माणमा जाने योजनामा छौं, कोअर्डिनेटर दवाडीले भने, ‘फिजिविलिटी अध्ययनका आधारमा पनि संरचनाहरु बन्छन्, फलफूल रोप्ने काम सुरु हुन्छ ।’

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी रिर्सोटको संरचना खडा गरिने

माडी ‘भर्जिन ल्याण्ड’ भएको, कृषिमा आधारित जनशक्ति, पर्यापर्यटनका हिसावले महत्वपूर्ण र सस्तो जमिन पाइएकोले लगानीका लागि आर्कषित भएको कम्पनीका नेपाल प्रोजेक्ट कोअर्डिनेटर शिरोमणि दवाडीले बताए । कम्पनीले चितवनसहित देशका ६५ वटा जिल्लामा यस्ता परियोजना चलाउने जनाएको छ । देशभित्र नै रोजगारी र आयआर्जनको बाटो देखाउने र विदेशमा रहेका नेपालीहरुलाई लगानीका लागि अभिप्रेरित गर्न र स्वदेश फर्काउन कृषिमा आधारित पर्यटनमा जोड दिइएको दवाडीको भनाइ छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी रिर्सोटको संरचना खडा गरिने उनले बताए । माडीका नगरप्रमुख ढकालले सन् २०२० को नेपाल भ्रमण बर्ष तथा माडीको पर्यटन र आर्थिक विकासमा सहयोग पुग्ने भएकोले सम्झौता गरिएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस