पर्यटनमन्त्री भट्टराईको सक्रियता : अन्तिम चरणमा पुग्यो गौतमबुद्ध विमानस्थलको काम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । आगामी पुसमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको गौतमबुद्ध विमानस्थलको भौतिक पूर्वधार निर्माण कार्य अन्‍तिम चरणमा पुगेको पर्यटन मन्त्रालयले जनाएको छ।

संस्कृति पर्यटन तथा नागारिक उड्‍ययन मन्त्री योगेश भट्टराईले सेमत विशेष चासोसहित सक्रियता देखाएको सन्दर्भमा विमानस्थलको काम लक्ष्य अनुकुल नै भएको मन्त्रालयका अधिकारीले जनाएका छन्। दशैंको समयमा पनि १०० जनाभन्दा बढी कामदारले काम गरेका छन्।

यही असोज ५ गते बसेको राष्ट्रिय समस्या समाधान समितिको ४६ औँ बैठकमा पेश भएको विवरणअनुसार सो विमानस्थलको कूल भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ।

तोकिएको समयमा नै काम भएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले पूरा हुने आयोजनाको रुपमा सोही आयोजना देखिएको छ। विमानस्थलको ब्यागेज ह्यान्डिलिङ सिस्टमको डीएचएस र लिफ्टका सामान सिंगापुरबाट आउने चरणमा छन्। चीनबाट ल्याउनुपर्ने केही सामान आइसकेको छ।

सेन्ट्रल एसी र लाइटको सामान चीनबाट आयात भई जडानको क्रममा छन्। यस्तै धावनमार्गमा राखिने बत्तीको काम भइरहेको छ। आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ले काम गरिरहेको छ।

नियमित अनुगमन, परामर्श एवम् सक्रियताले आयोजनाको कामले गति लिएको हो। अधिकांश ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग पनि निर्माण भइसकेको छ।

निर्माणाधिन विमानस्थलमा छ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ। जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, छ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण करिब सकिनै लागेको छ। बाँकी रहेको कामलाई सम्पन्न गर्न, साजसज्जा तथा अन्य भित्री काम गर्न, उडान तथा अवतरणको निम्ति आवश्यक उपकरण जडानसहितको एरोनटिकल इलेक्ट्रिकको काम केही बाँकी रहेको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो। कूल सात करोड अमेरिकी डलर लागतको सो विमानस्थल निर्माणका लागि एडीबीले ४० दशमलव ५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ। ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत ऋण र प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ।

विमानस्थलको भौतिक निर्माण सकिन लागेको भएपनि केही सामान भन्सारमा आएर रोकिएका छन् भने केही आउने क्रममा रहेका छन्। केही नयाँ सामान पनि आएकाले त्यसलाई कसरी भन्सारमा मूल्यांकन गर्ने भन्ने बारेमा उच्च सरकारी स्तरमा नै निर्णय गर्नुपर्ने देखिएको छ। थाहा खबरसँगको सहकार्यमा

ताजा अपडेट

खोजी गर्नुहोस