‘माथिल्लो त्रिशूली गेम चेन्जर परियोजना’, जलविद्युत क्षेत्रमा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १५, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौं । माथिल्लो त्रिशूली १ मा कोरियन लगानीको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले अन्तर्राष्ट्रिय वित्तीय कम्पनीहरूबाट वित्त व्यवस्थापन गरेसँगै नेपालको जलविद्युत क्षेत्रमा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी आएको छ।

शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय नौ वित्तीय कम्पनीका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रवर्द्धक कम्पनीहरूमा कोरियन कम्पनी (कोएन) को ५० प्रतिशत, डेलिमको १५ तथा क्येर्योङको १० प्रतिशत, अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीको १५ र नेपाली साझेदारको १० प्रतितश शेयर लगानी रहेको छ। यस आयोजनाका लागि शुक्रबार करिब ५० अर्ब एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) का लागि सम्झौता गरिएको छ।

परियोजनाको बित्तीय संरचना, प्रतिस्पर्धी विद्युत महशुल दर र अन्तराष्ट्रियस्तरमा स्वीकार गरिएका सम्झौताका मापदण्डहरु प्रयोग गरिएकाले यसले नेपालमा भविष्यका जलविद्युत परियोजनाका लागि एउटा मापदण्ड निर्धारण गर्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले निरन्तर नीतिगत सुधार गरेकाले वैदेशिक लगानी आउन थालेको बताए।

सार्वजनिक-निजी साझेदारी ऐन, नाफा लैजान सहज व्यवस्थापन, हेजिङ फण्डको व्यवस्था, करको सहजता लगायतका कारण वैदेशिक लगानीकर्ता नेपालमा आकर्षित भएको उनलर् बताए। खतिवडाले ठूलो परियोजनामा लगानी गर्न शंका गर्नुपर्ने वातावरण नरहेको बताए। वैदेशिक लगानीलाई आकर्षित गर्न पछिल्लो समय सरकारले धेरै नीतिगत सुधार गरेपछि त्यसैको प्रभाव देखिएको उल्लेख गरे।

अरुण तेस्रो, अपर-कर्णाली जस्ता परियोजनाहरू पनि एकसाथ अघि बढेको अवस्थामा लगानीमा सुधार देख्न सक्ने उनको राय थियो। व्यवसायिक सहजता (डुइङ विजनेश प्रतिवेदनमा) एकै पटक १६ स्थान सुधार गरेको जस्ता सकरात्मक पक्ष उनले सुनाए।

उनले दक्षिण एसिया नेपाल बढी लगानीयोग्य मुलुकमा रहेको बताए।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले त्रिशूली १ नेपालको गेमचेन्जर परियोजना भएको बताए।

‘यसले सयौँ हजार घर तथा व्यापारिक प्रतिष्ठानलाई विद्युत् मात्र प्रदान गर्ने छैन, निजी कम्पनीहरुले कसरी नेपाललाई जलविद्युतको क्षेत्र विस्तार गर्न र धेरै आवश्यक रहेको प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सहयोग गर्न सक्छन भन्‍ने उदाहरणको काम गर्नेछ,’ पुनले भने।

ताजा अपडेट

खोजी गर्नुहोस