कार्तिक २९, काठमाडौं । भारत सरकारका तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले रू. ३ अर्ब १० करोड ऋण रकम नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नुवाकोट र गोर्खामा आवास निर्माणका लागि भारतले तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत ऋण व्यवस्थामार्फत बिहीवार उक्त रकम उपलब्ध गराएको हो ।
नुवाकोट र गोर्खामा ५० हजार निजी घर पुनर्निर्माणका लागि भारतीय एक्जिम बैंकले क्रण व्यवस्था (एलओसी)मार्फत ५ करोड अमेरिकी डलर उपलब्ध गराउने वचनबद्धता गरेको थियो । त्यसमध्ये २ करोड ७९ लाख अमेरिकी डलर नेपाललाई हस्तान्तरण गरिएको हो ।
यसबाहेक भारतले तिनै घरहरूको निर्माणका लागि अनुदानस्वरूप १० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।
भारतले अहिलेसम्म घरधनीलाई पहिलो र दोस्रो किस्ता गरी रू. ६ अर्ब ९६ करोड अमेरिकी डलर प्रदान गरिसकेको छ । घरधनीहरूलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरूप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्न भारतले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा पनि प्रदान गर्दै आएको छ ।