माघ ८,काठमाडौँ । कर्मचारी संचय कोषको स्वामित्वमा रहेको काठमाण्डौ सुन्धरा स्थित काठमाण्डौ मल दिवा सपना जे.भि.ले आजदेखि व्यवस्थापन करारको जिम्मेवारी लिएको छ । काठमाण्डौ मल व्यवसायी संघले कर्मचारी संचय कोषवाट व्यवस्थापन जिम्मा पाएको दिवा सपना जे.भि.लाई आज एक समारोहकाबीच स्वागत गरेको छ । व्यवस्थापन टिममा हरी प्रसाद ढकाल, बिष्णुहरी ढकाल र कुमार पाण्डे रहेका छन ।
स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद गौतमले राजधानी काठमाण्डौको केन्द्र भागमा रहेको मललाई पर्यटकिय आकर्षणको केन्द्र वनाउने वारे कोषमा छलफल भइरहेको हुँदा सोही अनुरुप आफूलाई उत्साहित वनाएर समय अनुसार ग्राहकको मन जित्ने गरी व्यवसाय सञ्चालनगर्न मलका व्यवसायीहरुलाई आग्रह गरे ।
१५ वर्ष अघि नेपालको आकर्षक मल निर्माण गरिएको भएतापनि अहिलेको समयको माग अनुसार मललाई आकर्षक वनाउन ढिलो भैसकेकोले तत्काल सौदर्यकरण गर्ने योजना रहेको श्री गौतमले बताए । हाललाई ५ वर्षको निम्ति व्यवस्थापन करार गरेको भएतापनि राम्रो व्यवस्थापन गरेर देखाएमा व्यवस्थापन करारको समय थप गर्न सकिने पनि गौतमले वताए ।
दिवा सपना जे.भि. को तर्फवाट वोल्दै परियोजना प्रमुख विष्णुहरि ढकालले मलका व्यवसायीहरु, व्यवस्थापन पक्ष र कोष तीनै पक्षको साझा उद्देस्य व्यापार बृद्धि गर्नु हो, भन्दै व्यापार बृद्धिको लागि मलको आकर्षण र मल भित्रका विशेषताहरु प्रमुख विषय भएको हुँदा तीनै पक्षको सामूहीक प्रयास र सकारात्मक पहलवाट उद्देस्य प्राप्त गर्न सकिने विचार व्यक्त गरे । दिवा सपना जे.भी. क वर्गको प्रतिष्ठित कंपनी भएको हुँदा सबै व्यवहार पारदर्शी, व्यवसायिक र सहमतिमा आधारित हुने हुँदा मलका व्यवसायीहरुलाई निर्धक्कसीत व्यवसाय बृद्धिमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा कर्मचारी सञ्चय कोष सम्पत्ति व्यवस्थापन विभाग प्रमुख भरत वस्तीले मलको वि ब्लक धरहरा निर्माणको क्रममा भत्कने भएकोले त्यसमा व्यवसाय गरेर वसेका व्यवसायीहरुलाई मर्का परेको विषयमा कोष गम्भिर रहेको र कोषको तर्फवाट राहात स्वरुप सहयोग गर्ने विषयमा आवश्यक छलफल भइरहेको बताए ।
काठमाण्डौ मल व्यवसायी संघको तर्फवाट मन्तव्य राख्दै संघका सचिव मुरारी कोइरालाले वरिपरिका मल लगायत व्यापारको अवस्था अध्ययन गरेर वजार मूल्यमा राहत हुने गरी भाडा निर्धारण गर्न र मललाई आकर्षक एवं सुविधा सम्पन्न वनाउन माग गरे । कोइरालाले ब्लक बी का व्यवसायीहरुलाई कोषको तर्फवाट राहत प्याकेज घोषणा गर्नु पर्ने र व्यवस्थापन जिम्मा लिएको दिवा सपना जे.भि.ले ए ब्लकको खाली रहेको स्थानमा वि ब्लकका इच्छुक व्यवसायीहरुलाई प्राथमिकता दिनु पर्ने माग गर्दै व्यवस्थापन पक्षलाई संघले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम संघका अध्यक्ष विष्णुप्रसाद ढकालको सभापतित्वमा सचिव मुरारी कोइरालाले सञ्चालन गरेका थिए ।
कर्मचारी संचय कोषले २०७६ मंसिर ११ मा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी काठमाण्डौ मल भाडामा दिन बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा दिवा सपना जे.भि.सहभागि भई सबै भन्दा बढी भाडा रकम बोल कबोल गरेको थियो । बोलपत्रमा उल्लेखित सबै शर्त पूरा गरेपछि मिति २०७६ माघ ६ मा कोष र जे.भि.बीच भवन भाडामा लिने दिने सम्झौतामा हस्ताक्षर गरिएको थियो ।