माघ १६,काठमाडौँ । काठमाडौं विश्वविद्यालयमातहतका निजी मेडिकल कलेजले ‘अतिरिक्त शुल्क असुल्न खोजेको’ भन्दै उजुरी परेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संसद् शिक्षा तथा स्वास्थ्य समितिमा उजुरी परेको छ । यसमा चिकित्सा शिक्षा आयोगको समेत ध्यानाकर्षण गराइएको छ ।
काठमाडौं विश्वविद्यालयअन्तर्गत निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगको सहमतिपश्चात् धरौटी शुल्क २ लाख, इन्टर्नसिप शुल्क २ लाख र अन्य शुल्कको नाममा ४ लाखदेखि ६ लाख रुपैयाँसम्म लिने सहमति गरेको उजुरीपत्रमा उल्लेख छ । धरौटी शुल्क २ लाख र इन्टर्नसिप शुल्कबापत २ लाख रुपैयाँ अतिरिक्त लिएको उजुरीपत्रमा जनाइएको छ ।
चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र ०७६/७७ का लागि एमबीबीएसका लागि उपत्यकामा ४० लाख २३ हजार २ सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।त्यस्तै, बीडीएसका लागि २० लाख १९ हजार ५ सय ८० रुपैयाँ निर्धारण गरिएको छ ।