पुस ६, काठमाडौ । नगर विकास कोषले व्यवस्थित शहरीकरणमा नगरपालिकाहरुलाई आर्थिक तथा सामाजिक पूर्वाधारका आयोजनाहरुमा वित्तिय सहयोग प्रदान गर्ने उद्देश्य अनुरुप दशरथचन्द नगरपालिकामा व्यावसायिक क्रियाकलापको विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यका साथ दशरथचन्द नगरपालिकाको गोठालापानी स्थित वडा नं. ४ मा करिब १ रोपनी क्षेत्रफलमा दशरथचन्द बहुउद्देश्यीय भवन (Dashrathchand Multipurpose Building) निर्माणका लागि मिति २०७८ पौष ५ गते दशरथचन्द नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता सम्पन्न भएको छ ।
उक्त ऋण सम्झौता नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दशरथचन्द नगरपालिकाका उप प्रमुख मिना चन्द बीच रु.३ करोड ३ लाख ३ हजार मात्रको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ । यस दशरथचन्द नगरपालिकाको व्यावसायिक भवन आयोजनाको कुल अनुमानित लागत रु. ४ करोड ६६ लाख २० हजारको ६५ प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३५ प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।
उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका उपप्रमुख चन्दले यस आयोजनालाई नगरपालिकाको नमूना आयोजनाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा सयममा सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विचार व्यक्त गरिन् ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिकामा निर्माण हुने उपरोक्त आयोजनाले स्थानीय क्षेत्रको व्यावसायिक क्रियाकलापलाई व्यवस्थित बनाउने साथै नगरपालिकाको आय आर्जनमा समेत विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरे । कार्यकारी निर्देशक सापकोटाले सूदुरपश्चिम प्रदेशको पूर्वाधार विकासमा सहकार्य गर्ने नगर विकास कोषको प्राथमिकता रहेसंगै आज दशरथचन्द नगरपालिकाको पूर्वाधार विकासमा कोषले लगानी बढाउन पाएकोमा खुशी व्यक्त गरे ।