कात्तिक ४,काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पहिलोपटक पुर्ण क्षमतामा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । दशैँको चहलपहल र पर्यटकीय सिजन पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको हो ।
देशको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एक सय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दशैँको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार आवतजावत गरिरहेका छन् ।