बैशाख ३१, काठमाडौँ । कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट्न थालेको छ । एक वर्षको अवधिमा नै कर्जाको ब्याजदर २.२९ प्रतिशत बिन्दुले घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैत महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.८४ प्रतिशत रहेको थियो । चालु आवको सोही महिनामा आइपुग्दा भने घटेर १०.५५ प्रतिशत कायम भएको छ ।
चालु आवको पहिलो महिना अर्थात् गत साउनदेखि नै कर्जाको ब्याजदर घट्दै आएको छ । गत साउनमा पनि कर्जाको ब्याजदर १२.२४ प्रतिशत रहेको थियो । तर, त्यसपछि क्रमशः घट्दै आएको छ ।
राष्ट्र बैंकका अनुसार गत भदौमा वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १२.३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत रहेको थियो । यस्तै, गत पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत रहेको थियो ।