भाद १,पर्सा । वीरगञ्जको प्रसौनीमा अवस्थित ‘भेइकल्स एण्ड ड्राइभिङ्ग सोलुसन्स प्रा.लि.(लाइसेन्स ट्रायल सेन्टर) ले सरकारलाई कर नतिरी लगातार ट्रायल सेन्टर सञ्चालन गर्दै आएको खुलासा भएको छ। यो ट्रायल सेन्टरले आर्थिक वर्ष २०७८/७९ देखि आन्तरिक राजस्व कार्यालयमा कर नतिरेको पाइएको छ। स्रोतका अनुसार, उक्त सेन्टरले दैनिक १ हजारभन्दा बढी मोटरसाइकल र कारको ट्रायल गराउँदै, सेवाग्राहीहरूबाट ३ लाखभन्दा बढी राजस्व असुल्ने गरेको छ।
यो ट्रायल सेन्टरले यातायात व्यवस्था कार्यालय, वीरगञ्जसँग २०७३ सालमा सम्झौता गरेर संचालनमा आएको थियो। तर, आन्तरिक राजस्व कार्यालय, वीरगञ्जमा आर्थिक वर्ष २०७८/७९ सम्मको मात्र कर बुझाएको देखिएको छ।
लाइसेन्सको लागि यो ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयले लिखित र ट्रायल परीक्षा लिने गरेको छ। परीक्षामा सहभागी सेवाग्राहीहरूबाट दररेट तोकेर राजस्व असुल्दै आएको र सरकारले तोकेको मापदण्ड अनुसार पनि सञ्चालन नगरेको पाइएको छ।
सेवाग्राहीहरूले ट्रायलको लागि कारको ट्रायलमा ५५० रुपैयाँ तिर्नुपरेकोमा, त्यसको रसिदमा ४४९ रुपैयाँ मात्र लेखिएको छ। यो ट्रायल सेन्टरले राम्रो सवारी साधनको व्यवस्था नगरेकाले धेरै परीक्षार्थीहरू फेल हुने गरेको गुनासो गरेका छन्।
एक परीक्षार्थीका अनुसार, ट्रायल दिने क्रममा न त खानेपानीको व्यवस्था छ, न त राम्रो शौचालय साथै, गर्मीमा घण्टौं खुला घाममा लाइन बस्नुपर्ने बाध्यता रहेको छ। ट्रायल सेन्टरले निर्देशिकामा उल्लेखित मापदण्ड पालना नगरी सञ्चालन गर्दा धेरै परीक्षार्थीहरू असफल हुने गरेको पनि बताइएको छ।
यस विषयमा मधेश प्रदेश सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले निर्देशिकामा उल्लिखित मापदण्डहरू पालना नगरेका ट्रायल सेन्टरहरूलाई कारबाही गर्ने जनाएको छ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।