भाद्र २,काठमाडौँ । नेपालमा उपभोक्ता मूल्यवृद्धि घटिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गएको असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ३ दशमलव ५७ प्रतिशत रहेको छ । जबकि २०८० सालको असार महिनामा उपभोक्ता मूल्यवृद्धि ७ दशमलव ४४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ५ दशमलव ४४ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा वार्षिक औसत मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको थियो । तर अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६ प्रतिशत, दाल तथा गेडागुडीको झन्डै १० प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरूको झन्डै ९ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ८५ प्रतिशत र तरकारीहरूको ८ दशमलव २९ प्रतिशत रहेको छ । घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क झन्डै ११ प्रतिशतले घटेकोछ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरूको उप–समूहको मूल्यवृद्धि ११ दशमलव ३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव ९६ प्रतिशत, शिक्षाको ७ दशमलव ७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ४ दशमलव ७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको मूल्यवृद्धि ४ दशमलव ५६ प्रतिशत रहेको छ ।
यस्तै गएको आर्थिक वर्ष २०८०/८१ मा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यो समूहको यस्तो मुद्रास्फीति ८ दशमलव ६२ प्रतिशत रहेको थियो ।
क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ९९ प्रतिशत, तराईको ४ दशमलव ८२ प्रतिशत, पहाडको ५ दशमलव ७८ प्रतिशत र हिमालको ६ दशमलव ८६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत थोक मूल्यवृद्धि ३ दशमलव ९२ प्रतिशत मात्रै रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मृल्यवृद्धि ८ दशमलव ४७ प्रतिशत रहेको थियो ।
यस्तै गएको आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ५ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ ।