भाद्र २,काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । आयात १.२ प्रतिशतले र निर्यात ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय १३।० प्रतिशतले बढेको छ । तथ्यांक अनुसार अर्थतन्त्रको वाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ ।
एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले बढ्दा वाह्य क्षेत्र बलियो भएको हो । शोधान्तर स्थित ५ खर्ब २ अर्बले बचतमा हुनुको साथैं चालु खाताको बचत समेत नितन्तर बढ्दा समग्र विदेशी मुद्राको सञ्चिति बढेको हो ।
राष्ट्र बैंकले प्रकाशित गरेको देश वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार एक वर्षको अवधीमा विदेशी मुद्राको सञ्चिति बढेर १५ अर्ब २४ करोड डलर पुगेको हो । गत वर्ष असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो । हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले गत वर्षको आयातका आधारमा १३ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।
गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात गर्दा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो वर्ष नेपालले १६ खर्ब १० अर्ब रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
यस्तै, गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा गत वर्ष १० अर्ब ८६ करोड डलर रेमिट्यान्स आएको राष्ट्र बैंकले प्रकाशति गरेको तथ्यांकमा उल्लेख छ ।
रेमिट्यान्स आप्रवाहमा भएको सुधार र आयातमा आएको गिरावटले गत वर्ष चालु खाता २ खर्ब २१ अर्ब रुपैयाँले बचतमा गएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले बचतमा थियो । रेमिट्यान्स आय, निर्यात तथा अन्य चालु प्रकृतिको आम्दानीले आयात धान्न पुग्दा चालु खाता बचतमा गएको हो । चालु खाता बचतमा हुँदा शोधानान्तर स्थिति (नेपालमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा छ ।
गत वर्ष १०.०३ प्रतिशत रहेको आधार दर ८ प्रतिशतमा झर्नुको साथैं बाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १२.३ प्रतिशतबाट ९.९३ प्रतिशतमा झर्नु अर्थतन्त्र चलायमान बनाउन सहज हुने देखिन्छ ।