घरजग्गा

भदौ महिनामा घरजग्गाको कारोबार ८.०९ प्रतिशतले घट्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ४, शुक्रबार (७ महिना अघि)
  • ७५ पटक पढिएको
भदौ महिनामा घरजग्गाको कारोबार ८.०९ प्रतिशतले घट्यो !

असोज ४, काठमाडौँ । चालु आर्थिक बर्ष २०८१–८२ को भदौ महिनामा मात्रै घरजग्गाको कारोबार ८.०९ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकले घरजग्गाको कारोबारमा झन शिथिलता आएको देखाएको हो ।

ठूला दलसम्मिलत दुईतिहाई बहुमतको सरकार बनेपछि राजनीतिक स्थिरता कायम भई आर्थिक गतिविधिमा सुधार आउने सरकारी पक्षले दावी गर्दै आए पनि पछिल्लो समयमा शेयर बजारदेखि घरजग्गा कारोबारमा गिरावट आउन थालेको छ ।

भदौमा देशभर ३२ हजार ७८९ वटा घरजग्गाका कारोबार लिखित पारित भएका छन् । गत आवको सोही महिनामा देशभर ३५ हजार ६८६ वटा यस्तो कारोबार भएको थियो । तर, यसपाली भने त्यो घटेको उक्त तथ्यांकले पुष्टी गरेको छ । यद्यपि, गत साउनमा भने घरजग्गा कारोबार ११.६४ प्रतिशतले बढेको थियो । गत आवको साउनमा देशभर ३९ हजार २६३ वटा घरजग्गाको कारोबार भएको थियो । चालु आवको साउनमा भने ४३ हजार ८३५ वटा यस्ता कारोबार भएका थिए । तर, भदौमा भने घरजग्गा कारोबारमा कमी आएको तथ्यांकले पुष्टी गरेको छ ।

साउन र भदौंमा गरेर देशभर ७६ हजार ६३३ वटा घरजग्गाका कारोबार भएका छन् । यो गत आवको सोही अवधीको तुलनामा ३.५५ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा देशभर ७४ हजार ९४९ वटा घरजग्गाको कारोबार भएको थियो । गत आवभरमा भने पाँच लाख ३७ हजार २९५ वटा घरजग्गाको कारोबार भएको थियो ।

तथ्यांकअनुसार भदौमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबै भन्दा धेरै कारोबार भएको छ । भदौ महिनामा त्यहाँबाट १६ सय ५१ वटा घरजग्गाको लिखित पारित भएको छ । दोस्रो स्थानमा भने झापाको भ्रदपुरको मालपोत कार्यालय रहेको छ, त्यहाँबाट १२ सय ६५ वटा घरजग्गा कारोबार भएको छ । तेस्रो स्थानमा भने धनुषाको जनपुरधामको मालपोत कार्यालय रहेको छ, त्यहाँबाट ११ सय ४८ वटा घरजग्गाको कारोबार भएको छ ।

#घरजग्गा

ताजा अपडेट

खोजी गर्नुहोस