असोज १८, काठमाण्डौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन् । उनले आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।
नव नियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उहाँको यात्रा सुरु भएको थियो । उहाँको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उहाँलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ । सिईओको रूपमा, उहाँले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्न कम्पनीले जनाएको छ ।