कात्तिक १४,काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउने भएको छ । उर्जा उद्यमीहरुको छाता संस्था इप्पान २५ बर्षसम्म आइपुग्दा इप्पानमा निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेका छन् । यसरी ठूलो संख्यामा सदस्य रहेको संस्थाको अविभावक बन्न पाएकोमा ऊर्जा उद्यमीहरुको छाता संस्था इप्यानले हर्षित भएको जनाएको छ । वि. स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थासम्म आइपुगेको जनाएको छ ।
नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण २५ वर्ष समर्पत गरेको इप्पानले जानकारी दिएको छ । देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको छ । देशको कुल विद्युत जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २५.४८ मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै ३९४७ मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।
त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजीक्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्बौ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुऱ्याइरहेको छ । गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुऱ्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजीक्षेत्रले खर्च गरिसकेको छ ।
देशव्यापी रुपमा विद्युत उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुऱ्याएको निजीक्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी २०८१ माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको छ । रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्नुका साथै विभिन्न विधामा अवार्डहरु दिने इप्पान कार्यसमितिको १८ बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तीको लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ ।
इप्पान डे को अवसरमा Economic Prosperity through Energy Development Huge Opportunities, facing challenges and way of solutions in energy sector विषयमा दुईवटा प्यानल डिस्कसन आयोजना गरिने छ । सो सेसनमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरुवारे मन्थन हुनेछ ।
त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिनेछन् । जसमा फूटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी न्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने छ । इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने छ भने २५ वर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गर्ने योजना पनि रहेको जानकारी गराउँदछौं ।