पौष १४, काठमाडौँ । सरकारले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेसँगै लामो समयदेखि चर्चामा रहेको एसएमई प्लेटफर्म सञ्चालनको बाटो खुलेको छ । गत पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एसएमई प्लेटफर्म कारोबार नियमावली बनाउन धितोपत्र बोर्डलाई स्वीकृति दिएको हो ।
नेपाल धितोपत्र बोर्डले डेढ वर्षअघि नै साना तथा मझौला संगठित संस्था एसएमई प्लेटफर्मलाई सेयर कारोबारमा ल्याउन नियमावलीको मस्यौदा बनाएर अर्थ मन्त्रालयमा पेस गरेको थियो । बोर्डले २०८० जेठ ७ गते उक्त नियमावली स्वीकृतिका लागि अर्थमा पेश गरेको थियो । तर यसबीचमा ३ अर्थमन्त्री फेरिंदा पनि नियमावलीले पूर्णता नपाएकाले कार्यान्वयनमा आउन सकेको थिएन ।
मन्त्रिपरिषदको स्वीकृति पाएकाले अब बोर्डले यसअघिकै मस्यौदालाई नियमावलीको रुपमा कार्यान्वयनमा ल्याउनेछ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले सरकारले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ स्वीकृत गरेकाले एसएमई प्लेटफर्म सञ्चालनको बाटो खुलेको बताए । तर, एसएमई प्लेटफर्म सञ्चालनका लागि आवश्यक अन्य कानुनी तथा प्राविधिक प्रबन्धहरु मिलाउन भने केही समय लाग्ने उनको भनाई छ ।