काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्तिसम्बन्धी नेपालको कानूनलाई व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयले गर्ने फरक व्याख्याका कारण पनि समस्या भएको बताएका छन् ।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार राजिष्ट्रारको कार्यालयले आज आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले व्यवसायी, सरकार, र न्यायालयले आ(आफ्नो किसिमले त्यसलाई चिन्ने बुझ्ने कुराले कानूनमा दुविधा भएको भन्दै अहिलेको परिवेशमा नेपालको बौद्धिक कानून औद्योगिक सम्पत्ति कानूनलाई नयाँ किसिमबाट अगाडि बढाउन चाहेको बताए ।
उनले विश्वव्यापी बौद्धिक सम्पत्तिको सन्दर्भमा देशमा नयाँ कानून आवश्यक भएकाले देशको बौद्धिक सम्पत्तिसम्बन्धी कानून सरकारले नयाँ ढंगबाट अगाडि बढाउने तयारी गरेको बताएका छन् ।
उनले नेपाली मौलिकतासँग जोडिएका विषयहरुलाई लिपिबद्ध गरी पेटेन्ट राइट सुरक्षित गर्नेगरी कानून निर्माण प्रक्रियामा सरकार लागेको बताए । उनले समितिमा छलफलमा रहेको बौद्धिक सम्पत्तिसम्बन्धी कानून छिट्टै मन्त्रिपरिषदमा निर्णय गराएर संसदमा प्रवेश गराउने तयारीमा लागेको बताए ।
यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् । उनले बौद्धिक सम्पत्ति (आइपी)बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिएको धारणा राखे ।
अध्यक्ष ढकालले कतिपय अवस्थामा ट्रेडमार्ककका विषयमा विवादहरु आउने गरेकाले यसको समाधानमा हुनुपर्नेमा जोड दिए ।
विश्व बौद्धिक सम्पत्ति सङ्गठन (वाइपो)ले पहिलो विश्व आइपी दिवस २००१ मा मनाएको थियो । सङ्गठनले हरेक वर्ष फरक–फरक नारा तय गरी यो दिवस मनाउँदै आइरहेको छ । सङ्गठनले यस वर्ष ‘आइपी एण्ड म्युजिक फिल द बिट अफ आइपी’ नारा तय गरेको छ ।