काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बताएको छ । आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम यही वैशाख १९ गते राष्ट्रपतिले संयुक्त सदनमा प्रस्तुत गर्ने तयारी भएको छ ।
प्रि बजेट छलफल र नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले २८ गते दिने छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आज पार्टी संसदीय दलको बैठकमा संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा नीति कार्यक्रम र बजेटलाई आकर्षक बनाउन प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिए । बजेट अधिवेशनमासमेत महत्वपूर्ण केही विधेयक पारित गर्नुपर्ने अवस्था देखिएको भन्दै ओलीले यसमा ध्यान दिन भनेका हुन् ।
संघीय संसदका दुबै सदनको बैठक भोलि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । वर्षे अधिवेशनको दोस्रो वैठकमा भोलि विभिन्न विधेयक प्रस्तुत गर्ने र पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
प्रतिनिधिसभामा भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दुई समितिका प्रतिवेदन पेश गरिने छ । त्यसपछि हवाइ विधेयक र बैंकिङ कसुरसम्बन्धी विधेयक प्रस्तुत गर्दा नेपाल कानुन व्यवसायी परिषद् विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव गरिनेछ । राष्ट्रिय सभामा पर्यटन विधेयक २०८१ पेश गर्ने लगायतको चार कार्यसूची तय भएको छ ।