काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मुल्य बढाएको छ । बढेको मुल्य आजदेखि लागु भएको छ ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’को चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य तीन सय ५० मा झरेको थियो ।
संघको हिजो सम्पन्न छलफलले अण्डाको मल्य बढाउने निर्णय गरेको हो । गत वर्ष प्रतिक्रेट (३० गोटा)को पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० मा पुगेको थियो ।
लागत मुल्य समेत नपाएका कृषकलाई मुल्य बढेसंगै केही राहत मिल्ने संघले बताएको छ । सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ ।
गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो । उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।