विद्युत् प्राधिकरणको श्वेतपत्र स्थगित, प्राधिकरण घाटामै रहेको दाबी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख १६, मंगलबार (४ घण्टा अघि)
  • ६३ पटक पढिएको
विद्युत् प्राधिकरणको श्वेतपत्र स्थगित, प्राधिकरण घाटामै रहेको दाबी

बैशाख, १६ एजेन्सी । नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले श्वेतपत्र प्राविधिक कारणले रोकिएको जानकारी गराएको हो ।

प्राधिकरणका निर्देशक शाक्यले बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए, गरेका काम र आर्थिक अवस्था देखाउन आज मंगलबार बिहान ११ः३० बजे श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेका थिए ।

प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम तत्कालका लागि स्थगित गरिएको शाक्यको सचिवालयले भनेको छ । प्राधिकरणमा कार्यकारी निर्देशक भएर आएपछि हितेन्द्रदेव शाक्यले प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको बताउदै आएका छन् ।

श्वेतपत्रमा बर्खास्तमा परेका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेभन्दा केही फरक वित्तीय अवस्थाका विवरणहरू देखिएको छ । श्वेतपत्रमा आयकर ऐनको प्रावधानअनुसार कर प्रयोजनार्थ १२ वर्षको नोक्सानी समायोजन र एक्सलेरेटेड डिप्रिसिएशनको दाबीसहितको नाफानोक्सान गणना गर्दा प्राधिकरण अझै ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख छ । यस्तै फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको स्रोतले बताएको छ ।

उक्त श्वेतपत्र प्राधिकरणको अध्यक्षसमेत रहेका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा सोमबार बिहान बसेको प्राधिकरण सञ्चालक समिति बैठकले पारित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस