असार ११,धादिङ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्के बजारमा फुटपाथ निर्माणको शिलान्यास गरिएको छ । शिलान्यास गर्दै नगरप्रमुख बालकृष्ण आचार्यले बजारलाई व्यवस्थित र सडक दुर्घटना न्युनिकरण गर्नका लागि नगरपालिकाले फुटपाथ बनाउन लागेको बताएका छन् ।
सडक सिमाबाट १३ मिटरको दुरी भित्र ६ फिटको फुटपाथ बनाउने गरी काम सुरु भएको हो । गतआईतबार देखी स्काभेटरले अतिक्रमित फुटपाथ बनाउने ठाउँ खाली गरिरहेको छ । उक्त ठाउँमा ब्लक राखेर फुटपाथ बनाउने नगरपालिकाले जनाएको छ ।
सडकको दायाँ बायाँ ८०० मिटर सडक पेटीको मर्मतमा समन्वयका लागि धार्के बजारमा उपभोक्ता संस्था गठन गरिएको नगरप्रमुख आचार्यले अनलाईनकेन्द्रलाई बताए । समितीले स्थानिय सँग फुटपाथ तथा सडक पेटी निर्माणको महत्व तथा औचित्यको बारेमा जानकारी गराई सहज रुपमा काम गर्ने बातावरण बनाउनेछ ।
नगरपालिकाको व्यस्त मानिने बजार धार्केमा फुटपाथको निर्माणले सडक दुर्घटना न्युनिकणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।यसअघि फुटपाथ नभएकै कारण दर्जनौ नागरिकको मृत्यू तथा अंगभङ्ग भएको थियो ।
सोमबार बिहान नगरपालिकाका प्रमुख आचार्य, वडा नम्बर ६ का वडा अध्यक्ष कान्छा तामाङ, टोल सुधार संस्थाका अध्यक्ष रामचन्द्र आचार्य, ईलाका प्रहरी खानीखोलाका प्रमुख उद्धब प्रसाद पोखरेल लगायतले संयुक्त रूपमा सडकको छेउमा ब्लक राखेर पुजा गरि कामको उद्घाटन गरेका हुन् ।
धार्के, नौबिसे, खानिखोला बजारमा यो कार्य सकिएपछि सौर्य बत्ती र यी तीन वटा बजारमा सि. सि. टिभी पनि जडान गरि सडकको छेउमा बिरुवाहरु रोपिने योजना रहेको नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए ।
यो कामलाई कोहि कसैले पनि बाधा अबरोध नगर्न र आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न टोल सुधार संस्थाका अध्यक्ष रामचन्द्र आचार्यले आग्रह गरेका छन् ।