प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ भाद्र ९, शनिबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

भाद्र ९,काठमाडौँ । सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ ।

बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न निर्माण गर्न थालिएको पदमार्गलाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना नामाकरण गरिएको छ ।

रु ५७ लाख आठ हजार २६० लाग्ने अनुमान गरिएको सो पदमार्गको ५१८ मिटर लम्बाइ र १.८ मिटर चौडाइ हुने, दायाँबायाँ दुवैतर्फ रेलिङ राखिने र आगामी छ महिनाभित्र निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले बताए।

नगरपालिका, मोना र सङ्घको क्रमशः ५०, ४० र १० प्रतिशत लगानीमा निर्माण हुनलागेको सो पदमार्ग जन्मथलोको पर्यटन विकासका लागि विभिन्न देशमा रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरिएको मोनाका उपाध्यक्ष ओमनारायण जुक्जालीले बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नमूना योजनाको रूपमा प्रवासी र निजी क्षेत्रसँग त्रिपक्षीय साझेदारी गरेर पदमार्ग निर्माण गर्न लागिएको र यसबाट पर्यटन विकासमा सहयोग मिल्ने बताए ।

बेनीको दक्षिणी मोहोडाको शीरमा रहेको उकालोमा २० मिनेट हिँडेपछि पुगिने लभ्लीहिलमा गत वर्ष बेनी नगरपालिका र पर्यटन कार्यालयको सहयोगमा रेलिङ र गोलघर ९प्रतिक्षालय० निर्माण भएको थियो । यस वर्ष नगरपालिकाको रु पाँच लाख अनुदानमा ९० मिटर रेलिङ निर्माण गरिएको छ ।

आरामदायी बेञ्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ ।

गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरिलगायतका मनोरम हिमालको चुचुरो देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लीहिल पुग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष हिराबहादुर थापाले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस