असोज १८,काठमाडौँ । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।
निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए ।
अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे । दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ तयार भएको हो ।
अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोर्दी खोलामा उत्पादित जलविद्युत् खेर नजाने बताए । वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्याका कारण दोर्दी करिडोरमा निर्माणाधिन प्रशारण लाइनमा समस्या रहँदै आएको छ ।
गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले लमजुङ जलविद्युत्मा लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माणाधिन आयोजनालाई समन्वय गरी चाडोभन्दा चाडो सम्पन्न गर्न आग्रह गरे ।