सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ अषाढ १२, मंगलबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार १० बाँके । बाँकेको खजुरामा निर्मित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरंग सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक समारोहबीच अस्पतालको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री यादवले यस क्षेत्रका क्यान्सरका बिरामीहरुका लागि आवश्यक सम्पूर्ण उपचार यो अस्पतालबाट पाउने बताए ।

१२ वर्षअघि समुदायको पहलमा निर्माण कार्य सुरु भएको यो क्यान्सर अस्पताल २०७३ सालमा गठन आदेश मार्फत सरकारीकरण गरिएको हो । अस्पतालका लागि समुदायले ४ बिघा जग्गा र सवा तीन करोड रुपैयाँ उपलब्ध गराएको छ । आगामी आर्थिक वर्षका लागि यो क्यान्सर अस्पताललाई केन्द्र सरकारले करिब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालबाट लक्ष्यअनुरुपको सेवा प्रवाह गर्न तत्कालै १६ करोड रुपैयाँ आवश्यक रहेको भन्दै त्यसको व्यवस्था गरिदिन स्वास्थ्यमन्त्री यादवसँग आग्रह गरे ।

यसअघि स्वास्थ्यमन्त्री यादवले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको निरीक्षण गर्नुका साथै त्यहाँ निर्मित डेक्सा स्क्यान तथा बोन हेल्थ एण्ड ओस्टियोप्रोसिस क्लिनिकको उद्घाटन गरे । सो क्रममा उनले भेरी अञ्चल अस्पतालको स्तरोन्नति गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भेरी अञ्चल अस्पताललाई ५ सय शययाको बनाउन पनि आफू सकारात्मक रहेको भन्दै अस्पतालको स्तरोन्नतीको प्रक्रिया सुरु गरिने बताए ।
स्वास्थ्य मन्त्री यादवले पश्चिम क्षेत्रकै केन्द्र नेपालगन्ज भएकाले यहाँ सुविधासम्पन्न स्वास्थ्य संस्थाहरुको आवश्यकता भएको जनाउँदै सरकारले यहाँको स्वास्थ्य क्षेत्रको विकासका लागि हरसम्भव प्रयास गर्ने बताए ।

त्यस अवसरमा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले अस्पतालको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस