असार १७,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित हुन नदिने चेतावनी दिएको छ ।
कांग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका प्रावधानलाई कटौती गरेर ल्याउने तयारी गरेको त्यो विधेयक पारित हुन नदिने चेतावनी दिएका हुन ।
आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यादेशलाई कटौती गरेर ल्याइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिन आजको प्रतिनिधिसभा बैठक स्थगित गराइएको पनि स्पष्ट पारे। राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा उल्लेख गरिएको काठमाडौं उपत्यका भित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका प्रावधान कटौती गरेर ल्याउन खोजिएको विधेयकलाई सरकारले आजै संसदमा पेश गर्ने कार्यसूची तय गरिएको थियो ।
कांग्रेस सांसद थापाले यो विधेयकले देशको दूरदराजसम्म चिकित्सक पुर्याउने लक्ष्यलाई पूरा गर्न नसक्ने भएकाले यसलाई पारित गर्न दिन नसकिने अडान पनि राखे । उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई पनि केही मान्छेहरुलाई पोस्ने गरी ल्याएको विधेयक पारित गराउने खेलमा नलाग्न पनि अपील गरे ।
सरकारले राष्ट्रिय चिकित्सा अध्यादेश प्रतिस्थापनका लागि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा ल्याउने तयारी गरेको हो । तर त्यसको प्रावधान काटिएको भन्दै पारित गर्न नदिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अडान छ । कांग्रेस सांसद थापाले दलाल र पूँजीपतिहरुको सेवा गर्नेगरी राखिएको विधेयकको प्रावधान नहटाएसम्म त्यसलाई पारित हुन नदिने चेतावनी दिए ।