झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै

Post Thumbnail

असार ३०,झापा । झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना धकेलिँदै गएको छ ।

सन् २०१७ भित्रै झापालाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिए पनि त्यो सफल हुन सकेन । निर्धारित समयभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएपछि २०७५ को जेठ मसान्तसम्ममा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर, एक महिना बित्न लाग्दा पनि लक्ष्य हासिल हुन सकेको छैन ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले अभियान सम्पन्न गर्न केही जटिलता थपिएकाले तोकिएको समयमा खुला दिसामुक्त जिल्ला घोषणा गर्न नसकिएको बताए ।

झापामा अहिले पनि एक हजार ८०० घरधुरीमा शौचालय बनाउन बाँकी रहेको छ । करीब एक हजार ३०० घरधुरीमा शौचालय निर्माण भइरहेको छ भने ५०० घरधुरीमा शौचालय निर्माणको काम शुरु हुन नसकेको प्रमुख पोर्तेलले बताए ।

झापाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तह कनकाई, शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, बाह्रदशी, बुद्धशान्ति, कमल खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने कचनकवल, गौरादह, बिर्तामोड, हल्दिबारी खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेका छन् । दमक, मेचीनगर, भद्रपुर, झापा, कचनकवलमा ठूलो चुनौती रहेको प्रमुख पोर्तेलको भनाइ छ ।

खुला दिसामुक्त घोषणाको अभियानमा झापामा शहरी तथा सुगम क्षेत्रमा नै चुनौती देखिँदै छ । विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगर र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी रहेका छन् । “जान्ने र हुनेहरुले शौचालय बनाउन मान्दैनन्”, प्रमुख पोर्तेलले भने, “भौतिक विकासलाई मात्र विकास भएको ठान्ने प्रवृत्तिका कारण मानवीय र सामाजिक विकास कमजोर देखिएको होे ।”

ताजा अपडेट

खोजी गर्नुहोस