जुम्ला घटना छानविन गर्न प्रतिष्ठानले बनायो उच्चस्तरीय समिति

Post Thumbnail

साउन १०,जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डा.गोविन्द केसी अनसन बसेर काठमाडौं लैजाने क्रममा भएको घटनाको छानविनका लागि प्रतिष्ठानले उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा ७ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरिएको प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्र राज वाग्लेले जानकारी दिए ।

छानविन समितिको सदस्यहरुमा पूर्व स्वास्थ्य सचिव डा. सिनेन्द्रराज उप्रेती, प्राध्यापक डा. कृष्णकुमार राई, डा.बाबुराम मरासिनी, डा.देवमान लिम्बू, पत्रकार गोरखबहादुर थापा र सदस्य सचिवमा राजु कटुवाल रहेका उनले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेको कार्यकारी परिषदको बैठकले उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा भएको घटनाको सत्य तथ्य छानविनका लागि छानविन तथा प्रतिष्ठानको भविश्यका लागि आगामी दिन कसरी सजिलो बनाउने विषयमा समिति गठन भएको हो ।

यसैगरी समिति र अस्पतालको क्षतिको विषयमा शुक्रवार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गरिने कार्यक्रम रहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले जानकारी दिए । उनले पत्रकार सम्मेलन मार्फत सवै जानकारी गरिने बताए ।

गत असार १६ गतेबाट विभिन्न चिकित्सा क्षेत्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चाँडै पूर्वाधार तयार गरि डाक्टर पढाई गरिनुपर्ने भन्दै अनसन बसेका केसीको अनसनको २० औँ दिन साउन ३ गते प्रतिष्ठानमा प्रहरी, विद्यार्थी र कर्मचारीहरु बीच झडप भएको थियो । त्यसै दिन केसीलाई नेपाली सेनाको हेलिकप्टरवाट काठमाडौं लगिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस