शिक्षकको परीक्षाका कारण विद्यालय बन्द !

Post Thumbnail

असोज ८,डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो ।

उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र कैलाली जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ ।

जिल्लाका धेरैजसो विद्यालय १५ दिनका लागि र केही विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन् ।

गन्यापधुरा गाउँपालिकाका केही विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको उक्त गाउँपालिकाका निमित्त शिक्षा एकाई प्रमुख प्रेमसिंह ऐरले बताए ।

उक्त आयोगले माविको यही असोज ११, आधारभूतको १२ र प्राथमिकको परीक्षा १३ गते लिने भएको छ ।जिल्लाको पहाडी भेगमा ४५ दिन हिँउदे बिदा दिइन्छ भने अन्य भित्रीमधेश र केही पहाडी विद्यालयमा वर्षात्को बेला बिदा दिइन्छ । देशभरी नै एउटै जिल्ला भन्दा फरक जिल्लामा गएर परिक्षा दिनुपर्दा अधिकांश विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस