असोज १०, काठमाडौं । सबै प्रकारका क्यान्सर रोग बारे सचेतना फैलाउने र त्यसका रोकथामका उपायबारे जानकारी गराउने उद्देश्यसहित बुधबार राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाईँदैछ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष असोज १० गते राष्ट्रिय क्यान्सर सतर्कता दिवस मनाउने गरिएको हो ।
यसपटकको दिवस १४ औँ हो र यो पटकका लागि ‘क्यान्सरबारे जानकारी राखाँै, सतर्क हौँ, क्यान्सरलाई परास्त गरौँ’ भन्ने मूल नाराका तय गरिएको छ ।
क्यान्सर भन्ने बित्तिकै मानिसमा डर पैदा हुने गरेको छ तर समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर निको हुने चिकित्कसहरुले बताउँदै आएका छन् ।
विकसित देशमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने दर बढी छ । नेपालमा रोगको अवस्था अन्तिम तिर पुगेपछि मात्र अस्पताल जाने गरेका कारण उपचारमा कठीनाइ हुने गरेको छ ।
नेपालमा हरेक वर्ष झण्डै २० हजार मानिसको क्यान्सरकै कारण मृत्यु हुने गरेको तथ्यांक छ । यसमा महिलाको संख्या केही बढी छ । हरेक वर्ष ३३ हजार हाराहारी नयाँ बिरामी थपिने गर्दछन् ।
पहिलो चरणमा अस्पताल आइपुगेमा ९५ देखि १०० प्रतिशत बचाउन सकिने चिकित्कसले बताएका छन् । जीवन जोगाउन सकिने सम्भावना दोस्रो चरणका लागि ८०, तेस्रोका लागि ५० र चौथोका लागि पाँचदेखि १० प्रतिशत मात्र हुन्छ ।
जनचेतनाको अभावमा बिरामी समयमा अस्पताल आउन नसक्दा धेरैको अकालमा ज्यान जाने गरेको छ ।
२० वर्ष कटेका महिलाले पाठेघर र स्तनको परीक्षण गर्नुपर्छ । ५० वर्ष कटेपछि महिला–पुरुषले आन्द्रा र पुरुषले प्रोस्टेडको परीक्षण गर्नुपर्छ । सुर्ती–चुरोट सेवन गर्नेले मुखको क्यान्सरको परीक्षण गर्नुपर्छ । रोग लाग्नुभन्दा लाग्न नदिनु बुद्धिमत्ता भएकाले शरीर, समाज, परिवार र धनसम्पत्ति सक्ने यस्ता रोग लाग्न दिनबाटै रोक्नुपर्ने चिकित्सकले बताएका छन् ।
खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी लागिरहनु, महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाको पुनः रक्तस्राव हुनु वा सहवासपछि रक्तस्राव हुनु क्यान्सरका लक्षण हुन सक्छन् ।
स्तनमा गाँठैगाँठा, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु, लामो समयसम्म घाउ निको नहुनु, शरीरमा गिर्खा गाँठैगाठा देखिएमा परीक्षण गर्नुपर्छ ।
लामो समयसम्म गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु, कोठी र मुसाहरूको रङ्ग बदलिनु वा पहिले भएका आकार बढ्दै गएर अन्यत्र फैलनु, नाक, मुख र शरीरका छिद्रहरूबाट रगत आउनु, छोटो समयमा नै शरीरको तौल धेरै घट्नु, रक्तअल्पत्ता देखिनु, ज्वरो आइरहेमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गर्नुपर्छ ।
धेरै दिनसम्म टाउको दुखिरहेमा, बान्ता भएमा, रिङ्गटा लागेमा, आँखा धमिलो भएमा र कम्पन आएमा पनि क्यान्सर हुन सक्ने भएकाले तत्काल परीक्षण गर्नुपर्ने हुन्छ ।
चुरोट, बिँडी, खैती, सुर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन गर्नु हुँदैन । बासी, सडेगलेका र ढुसी परेका खानाहरू नखाने, पोलेर डढेको मासु, अखाद्य रङ्ग प्रयोग गरेका खानेकुरा, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन खान नहुने डाक्टरले बताएका छन् ।
धुलो, धुवाँ तथा वातावरणीय प्रदूषणबाट जोगिन, गुप्ताङ्क सधैँ सफा राख्न, मौसम अनुसारका हरियो सागपात र फलफूल खान, महिलाले गर्भाशय स्राव परीक्षण र स्तन परीक्षण गराएमा क्यान्सर रोगबाट बच्न सकिन्छ । नियमित शारीरिक व्यायाम र मोटोपन घटाएमा सबै खाले रोग कम लाग्ने गर्दछ ।
चिकित्सकका अनुसार फोक्सोमा क्यान्सर भएका ८० प्रतिशतको कारण धुम्रपान रहेको छ । नेपालमा हाल धुम्रपान गर्ने पुरुषको ३६ र महिलाको प्रतिशत १८ रहेको छ । प्रतिशत घट्दै गए पनि युवा पुस्तामा धुम्रपान गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले नेपालमा २८ हजारदेखि ३३ हजारसम्म नयाँ रोगी हरेक वर्ष थपिने अनुमान गरेको छ ।