कार्तिक २६,रुपन्देही। आफ्नै विद्यार्थीको उपचारमा भैरहवाको मेडिकल कलेजले लापरवाही गरेको छानबिन समितिले ठहर गरेको छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा बीडीएस तेस्रो वर्षमा अध्ययनरत २४ वर्षका महादेव शाहको गत साउन २० गते मृत्यु भएको थियो ।
मृत्युपछि उपचारमा कलेजले लापरवाही गरेको दावी गर्दै विद्यार्थी आन्दोलित भएपछि छानबिन समिति बनेको थियो । घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लुम्बिनी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा. विष्णु पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले करिब तीन महिना लगाएर तयार गरेको प्रतिवेदनले शाहको मृत्युमा मेडिकल कलेजले हेलचेक्र्याई गरेकाले मृत्यु भएको ठहर गरेको हो । प्रतिवेदनले मेडिकल कलेजलाई आगामी दिनमा उपचारमा हुनसक्ने कमी कमजोरी सुधार गर्न र शाहको परिवारमा हुन गएको अपुरणीय पारिवारिक क्षतिलाई मनन् गरी प्रचलित कानुनबमोजिम राहत दिनुपर्ने सुझावसमेत दिएको छ ।
बिरामीको चिरफार गरिएको घाउ अत्यन्त संवेदनशील स्थानमा रहेको र त्यसले बिरामीलाई पर्ने असरको बारेमा अस्पताल सजग नभएको प्रतिवेदनमा उल्लेख गरिएको संयोजक डा। विष्णु पौडेलले जानकारी दिए । पेट र छाती दुखेर इमर्जेन्सीमा चेकजाँच गराएका शाहको ईसीजी रिपोर्टमा मुटुमा समस्या भएको देखिए पनि बिरामीलाई डिस्चार्ज गरेका कारण मृत्यु हुन गएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले मुटुमा समस्या देखिएका शाहलाई निगरानीमा राखेर थप उपचार गराउनुपर्नेमा डिस्जार्च गर्दा मृत्यु भएको ठहर गरेको छ । समितिले दिएको प्रतिवेदन र मेडिकल कलेजलाई दिइएको पत्रको बोधार्थ स्वास्थ्य मन्त्रालयमा समेत पठाइएको छानबिन समितिका संयोजक डा. पौडेलले जानकारी दिए ।
गत साउन १४ गते पिलोको अपरेसन गरेका शाह केही दिनपछि छाती दुख्ने लगायतका सम्स्या देखिएपछि साउन १८ गते पुनः मेडिकल कलेजको इमरजेन्सीमा भर्ना भएका थिए ।