मंसिर १३,काठमाडौँ । बंगलादेशमा रहेको हम्दर्द विश्वविद्यालयले नेपालमा आफ्ना शैक्षिक र स्वास्थ्य सम्बन्धी संयुक्त कार्यक्रम लागू गर्ने भएको छ । प्राकृतिक चिकित्सामा आधारित शैक्षिक कार्यक्रम रहेको हम्दर्द विश्वविद्यालयले आफूसँग विभिन्न शैक्षिक कार्यक्रम रहेको बताएको छ ।
खासगरी आयुर्वैदिक चिकित्सा तथा शैक्षिक कार्यक्रमका लागि आफू नेपालमा सहकार्य गरेर अघि बढ्न तयार रहेको हम्दर्द ल्याब्रोटरी र हम्दर्द विश्वविद्यालयको तर्फबाट प्रा.डा.ए.के आजाद खानले बताए ।
आफ्ना शैक्षिक कार्यक्रम सहित प्रचारका लागि काठमाडौं आएको हमदर्द टोलीले आफ्नो उद्देश्यबारे ११ गते राजधानीको एअरपोर्ट होटेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
कार्यक्रम पछि जारी प्रेस विज्ञप्तिमा आयोजकले भनेको छ, ‘प्रा.डा. एके आजाद खानको नेतृत्वमा ५ सदस्यीय टोलीले नेपालको राजधानी काठमाडौं भिजिट गरेको छ, मानवीय संशाधन विकासका लागि नेपाल र बंगलादेशले स्वास्थ्य विज्ञान सहित विभिन्न क्षेत्रमा सहकार्य गर्न सक्नेछन् ।’
सो विश्वविद्यालयका उपकूलपतिको सभापतित्वमा सम्पन्न उक्त प्रस्तुति कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत भास्वी विन्त सम्सको समेत उपस्थिति थियो ।
कार्यक्रम अघि टोलीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित शिक्षा मन्त्रालयका उच्च अधिकारीहरुसँग भेट गरेको थियो ।
आफ्नो भेट फलदायी रहेको दाबी गरेको हमदर्द टोलीले नेपालका तर्फबाट प्राकृतिक पद्धतिमा आधारित स्वास्थ्य विज्ञान तथा हम्दर्दको शैक्षिक कार्यक्रम सम्बन्धी प्रस्तावको अनुरोध भएको बताएको छ ।
हम्दर्द विश्वविद्यालयले नेपालको विकासमा टेवा समेत पुग्ने लक्ष्य अनुरुप आफूहरु नेपालमा काम गर्न तयार रहेको बताएको थियो ।
हम्दर्द विश्वविद्यालयको उक्त टोलीले हम्दर्द विश्वविद्यालयलाई एसियन रिजनमा शैक्षिक हब बनाउने सोच रहेको समेत दाबी गरेको छ ।