विश्वविद्यालय जीवनको पाठशाला : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला नबनाई जीवनको पाठशाला बनाउनुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयकोे आज ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा आयोजित ४४ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय केवल पढ्ने मात्र नभई अनुभूत गर्ने, व्यवहार गर्ने र अपनाउने शिक्षातिर जानुपर्ने बताए।

त्रिविका कुलपतिसमेत रहेएका प्रधानमन्त्री ओलीले भने, ‘‘पढेलेखेको र कुनै तहमा उत्तीर्ण भएको व्यक्ति पनि जीवनको आधारभूत परीक्षामा अनुत्तीर्ण भएको र जीवन दुःखदायी भएको आज हामी देख्न सक्छौँ । कुनै विषयमा शिक्षा आर्जन गरेको व्यक्ति परिवार र समाजका लागि उदाहरणीय र अनुकरणीय हुन सकोस् भन्नेतिर विश्वविद्यालयको ध्यान जानुपर्छ ।’’

समाज लाभान्वित र समाजको सकारात्मक दृष्टान्त बन्न सक्ने विद्यार्थी विश्वविद्यालयले उत्पादन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले ती विद्यार्थीले विवेकको बाटाबाट समाजलाई आधुनिकताको नयाँ दिशामा डो¥याउन सक्ने बताउनुभयो । ‘‘हामीले निर्धारण गरेको विकास लक्ष्य पूरा गर्न कस्ता र कति जनशक्ति आवश्यक पर्छ, पहिले त्यसको विशिष्टीकरण गर्नुपर्छ, अनि त्यसअनुसार कुन कलेज कहाँ राख्ने र कुन विषय कहाँ पढाउने तय गर्न सक्छौँ,’’ उनले भने। विद्यार्थीले सिकेका ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिने उनले बताए।

आर्थिक हैसियत भएकाको मात्र उच्च शिक्षामा पहुँच सीमित नहुने भन्दै उनले सबैको शिक्षामा पहुँच पु¥याउनका लागि असमानता हटाई समातामूलक र सबै वर्ग समुदायका निम्ति उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताए । देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न, कला, संस्कृति, र परम्पराको संरक्षण गर्न एवं ज्ञान, विज्ञान तथा प्रविधिका क्षेत्रमा सामयिक अध्ययन–अनुसन्धान गर्न त्रिविले खेलेको भूमिको प्रधानमन्त्री ओलीले प्रशंसा गरे।

विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न त्रिविको चुनौती रहेकाले त्यसर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए। पुर्खाको ज्ञानलाई संरक्षण गर्न नसकेर आफूहरु पछाडि परेको भन्दै प्रधानमन्त्री ओलीले व्यावहारिक शिक्षा लागू गरेर जीवनलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी शैक्षिकसत्रमा विद्यालय बाहिर रहेका सबै विद्यार्थीलाई विद्यालयमा ल्याइने बताए।

भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय, स्कूल अफ इन्टरनेशनल स्टडिजअन्तर्गतका साउथ एशियन इकोनोमिक्सका प्राध्यापक महेन्द्र पी लामाले त्रिविले व्यावहारिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आजको शिक्षा कक्षाकोठाभन्दा बाहिरको धेरै व्यावहारिक भएको भन्दै त्रिविले त्यस्तो कक्षाकोठाभन्दा बाहिरको शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले त्रिविलाई अनुसन्धानमूलक संस्थाको रुपमा लैजाँदै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयले आफूलाई अब्बल सावित गर्न ज्ञानको हस्तान्तरण नभई ज्ञान निर्माणमा केन्द्रित भई विश्वस्तरमा आफ्नो पहिचान बनाउनुपर्ने बताए।

‘‘विद्यार्थीलाई स्वायत्त सिकारु बनाउन जरुरी छ । घोकन्ते शिक्षा लिएर दीक्षित हुुनुको कुनै अर्थ छैन’’ उनले भने, ‘‘विद्यार्थीलाई परिवर्तित परिवेशमा आइपरेका चुनौतीको सामना गदै राष्ट्र निर्माणको अभियानमा प्रत्यक्ष योगदान दिनसक्ने विश्वस्तरमा प्रतिस्पर्धी बनाउन सक्नुपर्दछ ।’’

त्रिविका उपकुलपति डा तीर्थराज खनियाले त्रिविलाई राष्ट्रिय विश्वविद्यालयको रुपमा लैजानुपर्ने बताउनुभयो । उहाँले त्रिविले प्राविधिक शिक्षालाई उच्च प्राथमिकताका साथ अगाडि लैजाने बताए । विसं २०१७ देखि प्रत्येक वर्ष हुँदै आएको दीक्षान्त समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ विद्यार्थीमध्ये नौ हजार ५०४ विद्यार्थी दीक्षित भएका छन् । छ हजार ३०९ विद्यार्थी सहभागी भएको सो समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति ओलीले ३१ पदक तथा पुरस्कार वितरण गरेका थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस