पौष १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताएका छन् । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘बालबालिकाको चेहरामा खुसी देंखे भने म पनि खुसी हुन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पिँढिको चेहरामा मुस्कान हुनुपर्दछ । मानिसहरु भोकबाट मुक्त हुनुपर्दछ । कठ्यांग्रिएर मर्ने अवस्था आउनुहुँदैन । समाज समतामुलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुसी हुन्छु ।’
बालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाएका थिए ।
‘एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्क जस्तै घाँस दाउरा, गाईबाख्राको हेरचाह आदि’ प्रधानमन्त्री ओलीले भने, ‘वुवै होमवर्क म कुशलतापूर्वक गर्थें ।’
प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे ‘सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?’ प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताए ।
बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मला पन्तको बलात्कार र हत्याको बिषयमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भिर रहेको बताएका छन् ।