म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

Post Thumbnail

फागुन १२,काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् ।

म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र बेनपा–२ को सहआयोजनामा सञ्चालन गरिएको एकदिने शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा ४१८ महिला र १८७ पुरुषले जाँच गराएका थिए । तीमध्ये १२२ स्त्रीरोग, नाक, कान र घाँटीका ८७, फिजिसियन १९९ र हाडजोर्नी तथा नशारोगसम्बन्धी २०७ बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार र सल्लाह प्राप्त गरेका शिविरको आयोजक संस्था म्याग्दी पोखरा चौतारीका उपाध्यक्ष एवं शिविरका संयोजक गोपाल घिमिरेले जानकारी दिए ।

संयोजक घिमिरेका अनुसार २७ बिरामीलाई पोखरामै बोलाएर उपचार गरिने भएको छ । शिविरमा गौश्वारा, विमिराबोट, तमाने, भकुण्डे, फापरखेत, खवरा, बगरफाँटलगायत बागलुङ जिल्लाको चनौटे, पन्चासे र मालिकाबाट समेत बिरामी आएका शिविरको सहआयोजक संस्था ज्यामरुककोट समाज नेपाल काठमाडौँका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

वर्षौँदेखि पाठेघरको समस्याबाट पीडित जमुना घिमिरे स्त्रीरोग विशेषज्ञ डा. छममाया पुनसँग आफ्नो समस्या बताउँदा उनीबाट पाएको सल्लाहले खुशी लागेको बताए । घिमिरेले भने, “यति राम्रोसँग पहिला कसैले पनि जाँच गरेका थिएनन् ।”

शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. भरत खत्री, स्त्रीरोग विशेषज्ञ डा. छममाया पुन, फिजिसियन डा. रोशन श्रेष्ठ, नशारोग विशेषज्ञ डा. राजन शर्मा, हाडजोर्नी विशेषज्ञ डा. सुनिल पहाडी, फिजिसियन डा. किरण तामाङ तथा नाक कान घाँटीका विशेषज्ञ डा. सञ्जय महर्जनको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेका शिविरका संयोजक घिमिरेले जानकारी दिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले स्वास्थ्य शिविरको शुभारम्भ गरे । शिविरमा विशेषज्ञ चिकित्सक आएकाले स्वास्थ्य जाँच गराउनेको भीड लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस