विद्यार्थी फेल भए शिक्षकलाई कारबाही !

Post Thumbnail

चैत १४, काठमाडौँ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो।

एसईईमा ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले ‘डी’ र ‘ई’ भन्दा कम ग्रेड ल्याए प्रधानाध्यापकको ग्रेड रोक्कासहित कारबाही हुनुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ।

तीन वर्षभन्दा बढी एउटै विषयमा विद्यार्थीले ‘डी र ई’ ग्रेड ल्याए विषय शिक्षकलाई सेवामुक्त गर्नुपर्ने सुझावसमेत छ । यस्ता विद्यालयका प्रधानाध्यापकलाई पदबाट घटुवा गर्ने व्यवस्था सुझाइएको छ । उपसमितिका सुझाव शिक्षा ऐन र नीतिमा समेट्न सरकारलाई निर्देशन दिइएको छ।

शिक्षा मन्त्रालयको कामकारबाही व्यवस्थित र प्रभावकारी बनाउन अध्ययन र निर्देशन दिने उद्देश्यले उपसमिति गठन गरिएको थियो । अध्ययनपछि सांसद उमेश श्रेष्ठको संयोजकत्वको ८ सदस्यीय उपसमितिले प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले ए र ए प्लस ग्रेड ल्याए त्यस्ता विद्यालयलाई थप बजेट दिनुपर्ने उल्लेख छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई कुल बजेटको ५ देखि १० प्रतिशतसम्म प्रोत्साहन तथा भौतिक पूर्वाधार विकासका लागि रकम दिनुपर्ने सांसदहरूको तर्क छ।

शिक्षकको नियुक्ति सेवा आयोगबाट मात्र गर्न पनि उपसमितिले सुझाएको छ । ‘प्रत्येक शिक्षकले अनिवार्य शिक्षण अनुमतिपत्र लिनुपर्ने र अध्यापन अनुमतिपत्र प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ। आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (९–१२) को प्रधानाध्यापकको शैक्षिक योग्यता क्रमशः स्नातकोत्तर र एमफिल वा सोसरह हुनुपर्ने सिफारिस छ।

पाँच–पाँच वर्षमा प्रधानाध्यापकलाई अन्तर विद्यालय सरुवा गर्ने व्यवस्था सुझाइएको छ । तत्काल शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, उनीहरूलाई छोटो अवधिको तालिम दिनुपर्ने राय प्रतिवेदनमा समेटिएको छ । ३५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने उपसमितिले औंल्याएको छ।

थोरै विद्यार्थी भएका हिमाली र पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्म बहुविषय पढाउन सक्ने शिक्षक राख्नुपर्ने सुझाव दिइएको छ । यस्ता शिक्षकलाई तलबको अतिरिक्त १५ प्रतिशत भत्ता दिनुपर्ने सांसदको माग छ । दुर्गम भेगमा आवासीय विद्यालय खोल्न सरकारलाई सुझाव दिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस