जेठ २८, काठमाडौँ । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा सोमबार थप ५४ जनामा डेंगु संक्रमण पाइएको छ।
धरानमा डेंगु संक्रमितको संख्या तीन सय ६८ पुगेको छ।
मनसुन सुरु हुनु अगावै डेंगु महामारी फैलाउने एडिज एजिप्टाई र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न व्यापक रूपमा ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानलाई पूर्ण रुपमा सफल बनाउन चिकित्सकहरुले प्रशासनलाई सुझाव दिएका छन्।
स्थानीय प्रशासनले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान संचालन गरिरहेपनि संक्रमितको संख्या भने दिनदिनै बढेको बढ्यै छ।
सोमबार अपरान्ह चार बजेसम्म धरानमा डेंगु संक्रमितको संख्या ३ सय ६८ पुगेको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहकाअनुसार १ हजार २ सय ३० जनाको रगत जाँच गरिएका मध्ये ३ सय ६८ जनामा डेंगुको भाइरस संक्रमण देखिएको छ। प्रतिष्ठानमा सोमबार ५४ जना डेंगुका नयाँ संक्रमित थपिएका छन्।
प्रतिष्ठानको आकस्मिक कक्षमा सबैभन्दा बढी डेंगुका बिरामीको भीड बढेको छ। आकस्मिक कक्षमा रगत जचाउन आउने बिरामीको भिड व्यवस्थापन गर्न प्रतिष्ठानले ट्रपिकल वार्डमा वेग्लै शैय्याको व्यवस्था गरेको डा. साहले बताए। चिकित्सकले धरानमा फैलिएको डेंगु टाइप टु भएको र एडिस एजिप्टाई तथा एडिज एल्बो पिकस लामखुट्टेको टोकाइबाट संक्रमण फैलिएको बताएका छन्।
प्री–मनसुनमा परेको पानीको सहाराले डेंगु संक्रमित एडिज एजिप्टाइ र एडिज एल्को पिकस जातिको लामखुट्टेले पारेको अण्डाबाट वयस्क लामखुट्टे बनेपछि मानिसलाई टोकेर धरानमा महामारी फैलिएको चिकित्सकहरुले बताएका छन्।
मनसुन सुरु हुन अझै एकसाता बाँकी रहेको मनसुनविदहरुले बताएका छन् । मनसुन अगाडि धरानमा डेंगु नियन्त्रण गर्न नसके स्थिति भयावह हुनसक्ने उनीहरुले बताएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका एडिश्नल प्रोफेसर डा. नारायण भट्टराईले भने, ‘पूर्वका धरान, बिर्तामोड, दमक तीर पाँच वर्ष अघि हामीले डेंगुको अनुसन्धान गर्दा पनि डेंगु भाइरस सार्ने लामखुट्टे, तिनका अण्डा, लार्भा र प्यूपा फेला पारेका थियौं । त्यसबेला डेंगु टाइप १, टाइप २ र टाइप ३ सम्म पाएका थियौं ।’
चिकित्सकहरुले त्यसबेला नै दक्षिण एसियामा सम्भवतः पहिलोपटक डेंगुको स्टेरोटाइपिङ गरिएको डा. भट्टराईले बताए । उनकाअनुसार प्री–मनसुन र मनसुनमा परेको पानी जताततै भरिएपछि त्यहाँ संक्रमित लामखुट्टेले अण्डा पारेर छाडेपछि त्यो लार्भा, प्यूपा हुँदै वयस्क लामखुट्टे बन्छ।
धरानमा पछिल्लो एकसाता यता व्यापक रुपमा लामखुट्टे मार्न अल्फा साइपर मेथ्रिन फगिङ मेसिनबाट किटनाशक छरिँदै छ भने अण्डा, लार्भा र प्यूपा नस्ट गर्न चिकित्सकसहितको र्यापिड रेस्पोन्स टिममार्फत सर्च एण्ड डेस्ट्रोय घरदैलो अभियान तिव्र पारिएको छ।
उनले भने, ‘यी काम अब मनसुन सुरु हुनु अगाडि नै सम्पन्न गर्न सकिए अर्कोपटक डेंगुको महामारी फैलन सक्दैन । तर बीचमा चुकेर फेरी डेंगुको महामारी फैलिए जनस्वास्थ्यमा खतरा उत्पन्न हुनसक्छ।’